काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र असहमति र शंका पैदा भएको मात्र कारणले माओवादी आन्दोलन र इतिहास नरोकिने बताएका छन्। विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नेता जनार्दन शर्मा (प्रभाकर) ले नपत्याएको प्रसंग उठ्दै प्रश्नहरू चर्काउन जरुरी नरहेको बताए। प्रचण्डले पार्टीभित्र स्वार्थसमूह रहेको र ती समूहको पहिचान भइसकेको पनि दाबी गरे।
उनले सत्तारूढ गठबन्धन संविधानसँग सम्बन्धित आवश्यक ऐन-कानुन बनाउन उदासीन देखिएको भन्दै प्रहरी समायोजन ऐन र संघीय निजामती सेवा ऐन नबन्दा संविधान कार्यान्वयनमै समस्या भएको बताए।
भारत–चीनले लिपुलेक हुँदै व्यापार गर्ने सम्झौताबारे उनले संवादमार्फत सीमा विवाद समाधान गर्नुपर्नेमा जोड दिए। साथै, पूर्वराष्ट्रपति विद्या भण्डारीलाई राजनीतिमा ल्याउने बाटो आफूले नै खोलेको प्रचण्डको भनाइ थियो।