

रौतहट : चुनावी प्रचारका क्रममा प्रयोग गरिएको सवारीसाधनको ठक्करबाट चार वर्षीया बालिकाको ज्यान गएको घटनापछि राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। रास्वपाका रौतहट क्षेत्र नम्बर २ का उम्मेदवार शेख सगिरले प्रयोग गर्ने गाडीको ठक्करबाट इशनाथ नगरपालिका–४, मठिया टोलकी अल्फा खातुनको मृत्यु भएको थियो।
घटनाप्रति दुःख व्यक्त गर्दै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले शुक्रबार विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा पार्टी घटनाबाट स्तब्ध र मर्माहत भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरिएको छ। घटनाको निष्पक्ष छानबिनका लागि स्थानीय प्रशासनसँग पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि जनाइएको छ।
महामन्त्री बुर्लाकोटीले कानुनी प्रक्रिया अगाडि बढाउन र पीडित परिवारलाई न्याय दिलाउन पार्टीले आवश्यक पहल गर्ने बताएका छन्। साथै राहत र सहयोगका विषयमा समेत छलफल भइरहेको उल्लेख गरिएको छ।
दुर्घटना बिहीबार दिउँसो भएको हो। बालिकालाई तत्काल गौर सिटी अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। गाडी चालक २७ वर्षीय शेख मुस्ताखलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उम्मेदवार सगिर दुर्घटनाका बेला गाडीमा सवार नरहेको बताएका छन्।
