


काठमाडौँ : भीमदत्त राजमार्गअन्तर्गत डडेल्धुराको अमरगढी नगरपालिका-७ खस्र्याखानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने चालकसहित तीन जना घाइते भएका छन्।
प्रहरीका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १८५० नम्बरको बोलेरो शुक्रबार बिहान करिब २ बजे सडकबाट करिब ४ सय मिटर तल खसेको थियो। दुर्घटनामा दार्चुलाको अपिहिमाल गाउँपालिका–१ का करिब ४५ वर्षीय सुगन लोथ्याल र २८ वर्षीय हनु लोथ्यालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।
दुर्घटनामा दार्चुलाको मार्मा गाउँपालिकाका ५० वर्षीय अमरसिंह ठगुन्ना, अपिहिमाल गाउँपालिका-१ की ३५ वर्षीया सरस्वती लोथ्याल तथा जिप चालक बैतडीको डिलासैनी गाउँपालिका-२ का अमृत घरेडी घाइते भएका छन्। उनीहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |