

काठमाडौँ : देशभर जारी प्राकृतिक विपद् र अस्तव्यस्त जनजीवनलाई ध्यानमा राख्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका सम्पूर्ण परीक्षाहरू स्थगित गर्न निर्देशन दिएको छ। मन्त्रालयले भदौ १३ गतेबाट सञ्चालन हुने तय भएका सबै परीक्षाहरू रोक्दै नयाँ तालिका उपयुक्त समयमा सार्वजनिक गर्न भनेको हो। भदौ १२ गतेको परीक्षामा विषम परिस्थितिका कारण छुट्न पुगेका परीक्षार्थीहरूका लागि समेत पछि छुट्टै परीक्षाको व्यवस्था मिलाउन मन्त्रालयले विश्वविद्यालयहरूलाई निर्देशन दिएको छ।
विपद्को यस कठिन समयमा विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिँदै मन्त्रालयले अत्यावश्यकबाहेकका सभा, गोष्ठी, सेमिनार र सामूहिक कार्यक्रमहरूसमेत नगर्न भनेको छ।
साथै, विपद् प्रभावित विद्यार्थी तथा अभिभावकका लागि शिक्षण संस्थामार्फत निरन्तर सम्पर्क र सहयोग पुर्याउनुका साथै मनोसामाजिक परामर्शको व्यवस्था मिलाउन मन्त्रालयको ताकेता छ। विपद्का कारण अध्ययनमा परेको प्रभावलाई सम्बोधन गर्दै विद्यार्थीको शैक्षिक निरन्तरता र सहजीकरणका लागि तत्काल आवश्यक कदम चाल्न पनि विश्वविद्यालयहरूलाई निर्देशन दिइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |