

काठमाडौँ : रसुवाको उत्तरी भेगस्थित भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीले पुर्याएको ठूलो जनधनको क्षतिप्रति पहिलो पार्टी नेपालले गहिरो दुःख व्यक्त गर्दै उद्धार र पुनःस्थापनामा जुट्न सर्वपक्षीय अपिल गरेको छ। पार्टीका संयोजक गोविन्द बोहरा (ब्रह्माण्ड)द्वारा जारी विज्ञप्तिमा तिब्बततर्फबाट अचानक ठूलो मात्रामा पानीको बहाव आउनुका यथार्थ कारण र क्षतिको विस्तृत विवरण तत्काल वैज्ञानिक रूपमा सार्वजनिक गर्न सरकारसँग आग्रह गरिएको छ।
विपद्को यस कठिन घडीमा राजनीतिक मतभेदभन्दा माथि उठेर पहिले मानव जीवन, त्यसपछि मात्र राजनीतिू भन्ने भावनाका साथ उद्धारमा लाग्न पार्टीले आह्वान गरेको छ। आफ्ना कार्यकर्ता तथा स्वयंसेवकहरूलाई स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी उद्धारमा खटिन निर्देशन दिँदै पार्टीले स्वयंसेवकको आफ्नै सुरक्षालाई समेत प्राथमिकतामा राख्न सजग गराएको छ।
बाढी प्रभावित क्षेत्रमा युद्धस्तरमा खोज, उद्धार र राहत अभियान सञ्चालन गर्न सरकारसँग ८ बुँदे माग राखिएको छ। जसमा प्रभावित क्षेत्रको तत्काल हवाई तथा स्थल निरीक्षण गरी यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने, बेपत्ताको खोजीलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने, घाइतेको निःशुल्क उपचार, खाद्य तथा अस्थायी आवासको प्रबन्ध गर्नुपर्ने र तटीय क्षेत्रमा पूर्वसूचना प्रणाली प्रभावकारी बनाउनुपर्ने विषय समेटिएका छन्। साथै, हिमाली क्षेत्रमा हिमताल र नदी प्रणालीको निरन्तर निगरानीका लागि आधुनिक संयन्त्र बनाउनुपर्नेमा पार्टीले जोड दिएको छ।



हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |