काठमाडौं : संघीय संसद्को प्रतिनिधि सभा बैठक आज अपराह्न १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयक र प्रतिवेदनहरू प्रस्तुत र छलफल हुने कार्यसूची छ ।
बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदन पेस गर्नेछन्। त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ प्रस्तुत गर्न अनुमति माग्ने र विधेयक संसद्मा पेश गर्ने कार्यसूची पनि रहेको संसद् सचिवालयले जनाएको छ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथिको दफावार छलफल गरियोस् भन्ने प्रस्ताव संसद्मा प्रस्तुत गर्नेछन्। संशोधन प्रस्तावमाथि निर्णयार्थ प्रस्तुत गरी विधेयक पारित गराउने तयारी छ।
सभामुख देवराज घिमिरेले संवैधानिक परिषद् सम्बन्धी पहिलो संशोधन विधेयक राष्ट्रियसभाबाट प्राप्त सुझावसहित निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि आजको बैठकमा रहेको छ।