


काठमाडौँ : सडक डिभिजन कार्यालय जनकपुरले आफ्नो कार्यक्षेत्रभित्र पर्ने माइस्थान–गौशाला–सम्सी तथा बर्दिबास–जलेश्वर सडकखण्डमा भएका अतिक्रमण हटाउन ३५ दिनको समयसीमा दिएको छ। साउन १४ गते सार्वजनिक सूचना जारी गर्दै कार्यालयले सडक क्षेत्रभित्र बनाइएका अनधिकृत संरचना र राखिएका सामग्री हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको हो।
कार्यालयका अनुसार सडकको केन्द्ररेखादेखि दायाँ–बायाँ १५/१५ मिटर क्षेत्रभित्र सवारी पार्किङ, व्यापारिक सामग्री राख्ने, विज्ञापन बोर्ड जडान गर्ने, निर्माण सामग्री थुपार्ने, सडक किनारमा खुद्रा व्यापार सञ्चालन गर्ने तथा अस्थायी संरचना बनाउने कार्यले यातायात र सर्वसाधारणको आवतजावत प्रभावित भएको छ।
निर्धारित अवधिभित्र अतिक्रमण नहटाइए सार्वजनिक सडक ऐन, २०३१ को दफा १९ र २० बमोजिम कार्यालयले आफैं डोजर प्रयोग गरी संरचना हटाउने जनाएको छ। हटाउने क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकीसरह असुल गरिने चेतावनी पनि दिइएको छ। यसअघि प्रधानमन्त्री बालेन शाहले जनकपुरका सार्वजनिक सडक र अतिक्रमण हटाउने विषयमा सम्बन्धित निकायलाई पटक–पटक चासो र दबाब दिँदै आएका थिए।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |