काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को उपनिर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया सुरु गरेको छ।
पार्टीको सचिवालय बैठकले उम्मेदवार चयन कार्यविधि स्वीकृत गरी केन्द्रीय समिति सदस्यहरूलाई रायका लागि पठाएको हो।अब केही दिनभित्र उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबाट आवेदन मागिने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । प्राप्त आवेदनको मूल्याङ्कन गरी कार्यविधिअनुसार छनोट प्रक्रिया अघि बढाइने उनको भनाइ छ ।
बैठकले सहमहामन्त्री एवं लुम्बिनी प्रदेश इञ्चार्ज विपिनकुमार आचार्यलाई रुपन्देही–३ उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कामको नेतृत्व गर्न जिम्मेवारी दिएको छ। निर्वाचन आयोगले उपनिर्वाचनको मिति तय नगरे पनि रास्वपाले उम्मेदवार तयारीमा सक्रियता देखाएको छ।