काठमाडौं : सरकारले आन्दोलनरत शिक्षक महासंघसँगको वार्ता निष्कर्षनजिक पुगेको जिकिर गरेको छ ।
सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो। वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको बताए । सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले सहमति भने हुन नसकेको मन्त्री पन्तको भनाइ छ ।
महासंघका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए। उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन स्थगित गर्ने जानकारी दिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी सुम्पिएको थियो । विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् । उनीहरुले आफ्ना माग पुरा नभए आन्दोलन नरोक्ने बताउँदै आएका छन् ।