काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकमाथि टिकटक भिडियोमार्फत आलोचना गरेको आरोपमा पक्राउ परेकी टिकटक प्रयोगकर्ता रमा बस्नेत ३० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएकी छन्।
बुधबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश विष्णुप्रसाद उपाध्यायको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो। खोटाङ घर भई हाल भक्तपुरमा बस्दै आएकी बस्नेतलाई गत असार १ गते नियन्त्रणमा लिइएको थियो। गृह मन्त्रालयको निर्देशन र प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार नै उनलाई विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरेको थियो।
सरकारी वकिलको अभियोगपत्रमा बस्नेतले बनाएका टिकटक भिडियोहरूमा प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाबारे टिप्पणी गरिएको उल्लेख छ। सरकारी वकिलले बस्नेतले घृणा र द्वेष फैलाउँदै चरित्रहत्या गरेको दाबी गर्दै १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजायको माग गरेको थियो।
यस प्रकरणले सामाजिक सञ्जालमा गरिने टिप्पणी र त्यसको कानुनी दायरालाई लिएर फेरि बहस चर्काएको छ। बस्नेतको मुद्दामा थप सुनुवाइ भने जारी नै रहनेछ।