काठमाडौं : मनसुन सुरु भएसँगै नेपालको जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको छ।
देशभित्रको कुल विद्युत् उत्पादन २ हजार ७ सय मेगावाट पुगेको छ। आन्तरिक माग पूरा भएपछि बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा निर्यात गर्न थालेको छ। हाल नेपालमा धेरै माग हुने समयमा विद्युत् खपत २ हजार मेगावाट र सामान्य माग हुँदा १ हजार ८०० मेगावाटको हाराहारीमा रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । आन्तरिक मागलाई धान्दै बाँकी रहेको बिजुली छिमेकी मुलुकमा बिक्री भइरहेको छ।
प्राधिकरणका अनुसार, अहिले भारतमा दैनिक ६५० देखि ७०० मेगावाट बिजुली निर्यात भइरहेको छ। भारतसँगको विद्युतीय व्यापार प्रणालीअन्तर्गत नेपालले यो परिमाणमा बिजुली बेच्दै आएको छ। यसैगरी, बंगलादेशमा भने पहिलोपटक नियमित रूपमा बिजुली निर्यात सुरु भएको छ। असार १ गतेदेखि बंगलादेशमा दैनिक ४० मेगावाट बिजुली जान थालेको छ। यो निर्यात नेपालको ऊर्जा व्यापारका लागि एउटा महत्वपूर्ण फड्को मानिएको छ।
वर्षायाममा नदीमा पानीको बहाव बढ्दा जलविद्युत् आयोजनाहरूले पूर्ण क्षमतामा बिजुली उत्पादन गर्न सक्छन्। यसले नेपाललाई ऊर्जामा आत्मनिर्भर बनाउनुका साथै विदेशी मुद्रा आर्जनमा पनि सहयोग पुगेको छ।