काठमाडौं : संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजसँग भेटवार्ता गरेका छन्।
सेभिल्लामा शनिबार सम्पन्न द्विपक्षीय भेटमा दुई मुलुकबीचको सम्बन्ध विस्तारका विविध पक्षमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तन, लगानी अभिवृद्धि तथा जनता–जनताबीचको सम्पर्क विस्तारमा जोड दिइएको थियो।
प्रधानमन्त्री ओलीले साञ्चेजलाई नेपाल भ्रमणको निम्तो दिँदै नेपालको राजधानी काठमाडौंमा स्पेनको दूतावास खोल्न आग्रह गरे। साञ्चेजले राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको योगदानको प्रशंसा गर्दै आगामी दिनमा आपसी सहयोग अझ सुदृढ बनाउने प्रतिवद्धता जनाए।
भेटमा प्रधानमन्त्री ओलीसँगै मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए।
भेटवार्तालाई नेपाल–स्पेन सम्बन्ध विस्तारको दृष्टिकोणले महत्वपूर्ण मानिएको छ।