काठमाडौं : प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। नियमित प्रश्नोत्तरअघि प्रधानमन्त्री ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।
सम्बोधनपश्चात् उनले सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिनेछन्। आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्।
यसैगरी, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।