काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार ‘फिफा फर स्कुल’ अभियानको शुभारम्भ गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा दशरथ रङ्गशालामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले फिफाको सहयोगमा करिब एक हजार विद्यालयलाई निःशुल्क फुटबल वितरण गर्ने कार्यक्रमको थालनी गरे। सो अवसरमा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकासलाई सरकारले उच्च प्राथमिकता दिएको जनाउँदै महत्वपूर्ण घोषणा गरेका छन्।
उनले भक्तपुरको सूर्यविनायकमा नयाँ र ठूलो रङ्गशाला निर्माण गरिने जानकारी दिए। यस अभियान र रङ्गशाला निर्माणको घोषणाले नेपालमा फुटबल विकासमा थप टेवा पुग्ने अपेक्षा छ ।