काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले चाहेमा सभापतिको जिम्मेवारी छाड्न तयार रहेको प्रष्टिकरण दिएका छन् ।
शुक्रबार कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै उनले निजामती सेवा विधेयकमा रहेको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्थामा आफूले गल्ती नगरेको जिकिर गरेका हुन् । तथापि पार्टीले त्यस्तो ठानेमा पदबाट हट्न आफूसँग कुनै आपत्ति नरहेको उनले बताए । खतिवडाले पार्टीभित्र शीर्ष नेताहरूमाथि आरोप लगाउने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै यस्तो अभ्यासले संगठन बलियो नहुने टिप्पणी गरे।
पार्टीमा पद्धति बसाल्ने हो भने आन्तरिक छलफल र आत्मसमिक्षाको संस्कृति विकास गर्नुपर्ने उनको भनाइ थियो। खतिवडाले विधेयक पारित प्रक्रियामा संसदीय समिति अध्यक्षको हैसियतले आफूले सबै प्रक्रिया विधिसम्मत ढंगले अघि बढाएको समेत स्पष्ट गरे।