काठमाडौँ : संघीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ। नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने बैठकका लागि विभिन्न विधेयक र प्रतिवेदन टेबुल गर्ने कार्यसूची तय भएको छ। प्रतिनिधिसभामा ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ सम्बन्धी राष्ट्रियसभाबाट प्राप्त सन्देश बैठकमा प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छ।
त्यसैगरी, ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ का सन्देश पनि राष्ट्रियसभाबाट प्राप्त भइसकेकाले ती विधेयकहरू पनि टेबुल गरिने संसद् सचिवालयले जनाएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ र युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन विधेयक, २०८२’ बैठकमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
आजको बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पनि टेबुल गरिनेछ।