काठमाडौं : आज सङ्घीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै छन्। दुवै बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा अपराह्न १ बजेपछि बस्ने तय भएको हो ।
प्रतिनिधिसभाको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। यससँगै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका छ । बैठकमा श्रम, उद्योग, युवा तथा खेलकुद, र ऊर्जा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूमा सम्बद्ध मन्त्रीहरूले जवाफ दिने कार्यक्रम पनि तय गरिएको छ।
त्यस्तै, अपराह्न १ः १५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा शिक्षामन्त्रीले मौखिक प्रश्नहरूको उत्तर दिने छन्। साथै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले त्रिभुवन विश्वविद्यालयसम्बन्धी अध्ययन प्रतिवेदनमाथि छलफलको प्रस्ताव प्रस्तुत गर्नेछन्।
ऊर्जा जलस्रोत मन्त्री दीपक खड्काले ‘जलस्रोत विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।