काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको भूमि सुधार तथा मालपोत कार्यालयका कार्यालय प्रमुख कुमार आचार्यसहित तीन जनालाई २४ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।
बुधबार बिहान कार्यालयभित्रैबाट अख्तियारको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्ने अन्यमा नायब सुब्बा दीपकप्रसाद अधिकारी र कार्यालय सहयोगी टीकाराम राउत रहेका छन्। उनीहरूले चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी चार आना जग्गाको मोही लगत कट्टा गरी जग्गाधनी प्रमाणपुर्जा बनाउनका लागि सेवाग्राहीसँग उक्त ठूलो रकम घुस मागेको अख्तियारले जनाएको छ।
घुस मागेको उजुरीका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट मोबाइल डिभाइसहरू र घुस रकम २४ लाख ५० हजार रुपैयाँसमेत बरामद गरिएको छ। पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियारको भनाइ छ ।