काठमाडौं : आज कोशी प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षाको प्रक्षेपण गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
मनसुनी न्यून चापीय रेखा नेपालतर्फ रहेकाले पूर्वी नेपालमा बढी वर्षा हुनेछ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ। लामो समयदेखि खडेरीको सामना गरिरहेको मधेस प्रदेशमा आज रातिबाट वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्नेछ। विशेषगरी कोशी र मधेस प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।
मौसमविद्का अनुसार बिहीबार दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसबाट भूक्षय, बाढी, पहिरो, गेग्रान बहाव र शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्न सक्छ। नदी तथा खोलाहरूमा पानीको सतह बढ्ने हुँदा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य र यातायातमा असर पर्न सक्ने विभागको चेतावनी छ। त्यसैले, सबैलाई सतर्कता अपनाउन र पूर्वतयारी गर्न अनुरोध गरिएको छ।