काठमाडौं : आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति सार्वजनिक भएसँगै सेयर बजारमा देखिएको उछाल आज केही मत्थर भएको छ।
मौद्रिक नीतिले सेयर बजारप्रति देखाएको उदार दृष्टिकोण, बैंक तथा वित्तीय संस्थाहरूका लागि लचिलो व्यवस्था र लगानीकर्ताका माग सम्बोधनले बजारमा सकारात्मक सन्देश दिएको थियो। यसले गर्दा नेप्से सूचकमा उल्लेख्य वृद्धि भयो र लगानीकर्ताबीच आशावाद फैलिएको थियो। तर, लगातारको वृद्धिपछि स्वाभाविक रूपमा आज आम लगानीकर्ता नाफा बुक गर्नेतर्फ लाग्दा बजारमा सामान्य करेक्सन देखिएको छ । यसलाई बजारको सामान्य प्रक्रियाका रूपमा हेरिएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से ) आज २.८७ अंकले घटेर २८६७.७६ बिन्दुमा कायम भएको छ। यद्यपि, कारोबार रकममा भने खासै कमी आएको छैन। आज ३१६ कम्पनीका ५ करोड १६ लाख ५८ हजार कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ४६ करोड ४९ लाख रुपैयाँको कारोबार भएको छ। आज ८ वटा उपसूचकहरू राताम्य भएका छन्।
बैंकिङ समूहको सेयर मूल्य १.४५ प्रतिशतले घटेको छ। यसैगरी, विकास बैंक समूहको ०.२० प्रतिशत र फाइनान्स समूहको २.२२ प्रतिशतले सेयर मूल्य ओरालो लागेको छ । आइतबार १०५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४४ कम्पनीको घटेको छ। यो तथ्यांकले पनि बजारमा नाफा बुक गर्ने प्रवृत्ति हाबी भएको देखाउँछ ।