काठमाडौँ : लगातारको वर्षासँगै देशका विभिन्न नदीमा जलसतह बढ्दै गएपछि जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। भक्तपुरस्थित हनुमन्ते खोलाको कौशलटार जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ।
रुकुमपश्चिमको ठूलो भेरी र रिम्ना जलमापन केन्द्रमा पनि जलसतह सतर्कता नजिकै पुगेको जनाइएको छ। ती क्षेत्रमा नदी तटीय बस्ती र डुबान हुने स्थानमा सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।
म्याग्दी जिल्लाको मङ्गलाघाट जलमापन केन्द्रमा म्याग्दी खोलाको सतह सतर्कता पार गर्दै गएको छ। विभागले कमजोर जमिन, खोला किनार तथा पहिरोको सम्भावना रहेको क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। नदी किनारमा यात्रा तथा बसोबास गर्नेहरूलाई बिहानसम्म विशेष सतर्क रहन सूचना जारी गरिएको विभागले जनाएको छ।