काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठक सोमबार अपराह्न १ बजे बस्दैछ। बैठकमा चार वटा विधेयक तथा प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ । संसद् महासचिवले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी पहिलो संशोधन विधेयक, २०७९’ मा राष्ट्रपतिबाट प्राप्त सन्देशबारे जानकारी गराउने संघीय संसद् सचिवालयले जनाएको छ ।
त्यसपछि लेखा समितिका सभापति ऋषिकेश पोखरेलले ‘सार्वजनिक लेखा समितिको ३२औँ वार्षिक प्रतिवेदन, २०८२’ मा समेटिएका सुझावहरू आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को दफा ४१(२) अनुसार स्वीकृत गर्न प्रस्ताव पेस गर्ने कार्यक्रम छ।
त्यस्तै, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकूद विकास (पहिलो संशोधन विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विश्व व्यापार संगठनको मत्स्य उद्योगमा सहुलियतसम्बन्धी सम्झौता अनुमोदन गर्न प्रस्ताव पेश गर्ने तयारी भएको छ।