काठमाडौं : काठमाडौंको सिनामंगलस्थित ‘इम्पावर ह्युमन रिसोर्सेस म्यानेजमेन्ट प्रालि’बाट विगत दुई दशकमा हजारौं नेपाली युवाको विदेश जाने सपना साकार भएको छ । यसै कार्यालयको नेतृत्व गर्दै आएका छन्- वैदेशिक रोजगार क्षेत्रमा चिनिएका केदारनाथ अधिकारीले ।
सधैं अनुशासित र सरल देखिने अधिकारीको अनुहारमा पछिल्लो समय अतिरिक्त चमक थपिएको छ। हालै अमेरिकामा रहेको अभोनले विश्वविद्यालयबाट उनले पाएको मानार्थ विद्यावारिधि उपाधिले उनलाई फेरि एकपटक वैदेशिक रोजगारका अभियन्ताको रूपमा उजागर गरिदिएको छ। भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहमा मानव संसाधन विकासमा दिएको योगदानको कदरस्वरूप उनलाई यो उपाधि प्रदान गरिएको हो। उनी सो विश्वविद्यालयबाट यस्तो सम्मान पाउने पहिलो नेपाली व्यवसायी बनेका छन्।
२० वर्षअघि स्थापना गरिएको ‘इम्पावर ह्युमन रिसोर्सेस म्यानेजमेन्ट प्रालि’ को यात्रा सजिलो थिएन। वैदेशिक रोजगारको क्षेत्रमा मानव स्रोत आपूर्तिकर्ता कम्पनीहरूको छवि सामान्यतः विवादास्पद ठानिन्छ। तर अधिकारीले त्यो छविभित्रबाट इमानदारी, पारदर्शिता र उत्तरदायित्वको फरक धार खडा गरे।
उनी भन्छन्, “हामीले कहिल्यै श्रमिकलाई ग्राहकजस्तो होइन, परिवारको सदस्यजस्तो ठान्यौं।” यही भावनाले गर्दा सायद उनका अधिकांश श्रमिक सन्तुष्ट छन्।
कम्पनीले अघिल्लो आर्थिक वर्षमा मात्रै २ हजार ६ सय ६९ नेपालीलाई युएई, कतार, मलेसिया जस्ता देशमा रोजगारीमा पठाएको थियो। सीपयुक्त, अर्धसीपयुक्त र सामान्य श्रमिकलाई समेत समेट्ने संस्थाको कार्यशैलीले कार्यस्थलको अनुगमन, श्रमिक सन्तुष्टि र समस्या समाधानमा विशेष ध्यान दिएको अधिकारी बताउँछन्।
सरकारी नीति र निर्देशानुसार पारदर्शी ढंगले संस्था सञ्चालन गर्दै आएको उनी बताउँछन्। “अब गुणस्तरीय श्रमिक व्यवस्थापन र व्यावसायिकताको नयाँ अध्याय सुरु गर्नेछौं,” अधिकारीको प्रतिबद्धता छ।
उनको यात्रा आफैँमा एउटा प्रेरणा हो- जसले देखाउँछ, व्यवसायिक सफलताको मापन केवल नाफामा होइन, सामाजिक जिम्मेवारी र नैतिकतामा पनि हुन्छ। विदेशिने सपना देखिरहेका हजारौं युवाका लागि केदारनाथ अधिकारी एउटा उदाहरण बनेका छन्- जसले सपना मात्रै बेच्दैनन्, सुरक्षित भविष्यको बाटो पनि देखाउँछन्।