काठमाडौँ : भारतको राजधानी नयाँ दिल्लीबाट घरेलु कामदारका रूपमा खाडी मुलुक जान लागेका ४० नेपाली महिलाको उद्धार गरिएको छ।
उनीहरूलाई गैरकानुनी रूपमा खाडी मुलुक पठाउने तयारी भइरहेको सूचना पाएपछि नेपाली राजदूतावास, भारतीय प्रहरी र ‘किन इन्डिया’ संस्थाको समन्वयमा बुधबार राति उद्धार गरिएको हो। उद्धार गरिएका महिलालाई बिहीबार रूपन्देहीको सुनौली नाका हुँदै काठमाडौँ ल्याइँदैछ। दूतावासले दिल्लीको महिपालपुर क्षेत्रका विभिन्न होटलमा गरिएको अपरेसनबाट ६३ जना नेपाली महिलालाई नियन्त्रणमा लिएको थियो। तीमध्ये २३ जनाले युरोपतर्फ वैध प्रक्रियाबाट जान लागेकाले उनीहरूलाई छाडिएको बताइएको छ।
बाँकी ४० जनालाई भने खाडी मुलुकतर्फ अवैध रूपमा पठाउने तयारी थियो। दूतावास स्रोतअनुसार तीमध्ये ३१ जना कुवेत, ४ जना ओमान, ४ जना दुबई र १ जनालाई साउदी अरब पठाउने तयारीमा थिए। ती महिलाहरू नेपालका २४ जिल्ला हुँदै भारत पुर्याइएको खुलेको छ। उनीहरू प्रायः भिजिट भिसा र भारतको बाटो प्रयोग गरी दिल्ली पुगेका थिए।