काठमाडौँ : संसदीय समितिले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान स्तरोन्नतिको प्रगति विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ। प्रतिनिधिसभाको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन तथा मूल्यांकन समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्देशन दिएको हो।
गत साउन १२ गते समितिले मैदानको अवलोकन गरेको थियो। त्यसपछि भएको प्रगति विवरण माग्दै समितिका सभापति ठाकुरप्रसाद गैरेले सम्बन्धित निकायलाई पत्राचार गरिने बताए।
हाल मैदानमा स्तरोन्नति, प्यारापिट निर्माण र फ्लडलाइट जडानको काम भइरहेको छ। तोकिएको समयमै काम नसकेपछि निर्माण कम्पनीलाई हर्जाना तिराएर काम अघि बढाइएको हो।
प्यारापिट निर्माणको जिम्मा बीकेओआई-केसीडीसी–बीजी जेभीले लिएको छ भने फ्लडलाइट जडानको जिम्मा विशन–ईश्वरी जेभीलाई दिइएको छ। दुवै कम्पनीले फागुनमा संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयसँग सम्झौता गरेका थिए।