काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगार ऐन, २०६४ संशोधन गरी प्रत्येक आर्थिक वर्षमा न्यूनतम १०० जना कामदार पठाउने व्यवसायीहरूको इजाजतपत्र नवीकरणको प्रावधान खारेज गर्ने निर्णयका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीप्रति आभार व्यक्त गरेको छ।
संघका अध्यक्ष भुवन सिंह गुरुङद्वारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्री भण्डारीसँगै श्रम सचिव, सहसचिव, कानुन शाखा प्रमुख, मन्त्रालयका कर्मचारी, पत्रकार, नागरिक समाज र सरोकारवालाहरूलाई धन्यवाद दिइएको छ।
संघले यो निर्णयले व्यवसायीहरूलाई ठूलो राहत पुगेको र वैदेशिक रोजगार व्यवसाय थप सहज र प्रभावकारी बन्ने विश्वास व्यक्त गरेको छ। संघका अनुसार यस्ता सकारात्मक कदमले श्रम आप्रवासन क्षेत्रको सुधार र व्यवस्थितिकरणमा टेवा पुग्ने विश्वास गरिएको छ ।