काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नाफा १.१० प्रतिशत नाफा बढाएको छ ।
बैंकले गत वर्ष ६ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएकोमा यो वर्ष ६ अर्ब २० करोड रुपैयाँमा पुगेको हो। इम्पेरमेन्ट चार्ज बढेपछि नाफा अपेक्षाकृत कम बढेको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेको छ भने फि तथा कमिशन आम्दानी २०.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशत बढेको छ।
तर, इम्पेरमेन्ट चार्ज ३ अर्ब ६१ करोडबाट ४ अर्ब ३० करोड रुपैयाँ पुगेसँगै सञ्चालन मुनाफा २.७५ प्रतिशत घटेको हो। बैंकको प्रतिशेयर आम्दानी १८ पैसा बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ । ३८ अर्ब ११ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडामा २९ अर्ब ५८ करोड रुपैयाँ छ।
बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ११ पैसा रहेको छ।