काठमाडौँ : नेपाली कांग्रेसका दर्जनौं कार्यकर्ता वी.पी. काँग्रेसमा प्रवेश गरेका छन्। शनिबार सामाखुसीस्थित वी.पी. काँग्रेस केन्द्रीय कार्यालयमा आयोजित काठमाडौं जिल्ला कार्यसमिति घोषणा कार्यक्रममा ३५ भन्दा बढी कांग्रेस कार्यकर्ताले नयाँ पार्टीमा प्रवेश गरेका हुन्।
वी.पी. काँग्रेसका सभापति सुशिलमान शेरचनले कार्यकर्तालाई अविर र खादा लगाएर पार्टीमा स्वागत गरेका थिए। उनले कांग्रेसले वी.पी.को सिद्धान्त भुलेको कारण आफूहरू वी.पीको पथ समातेको बताए । शेरचनले भने, “कांग्रेसभित्र इमान्दार कार्यकर्ता टिक्न सकिरहेका छैनन्। यही कारणले वी.पी. काँग्रेसप्रति आकर्षण बढ्दै गएको छ। अब देशभर कांग्रेस छोडेर वी।पी। काँग्रेसमा प्रवेश गर्ने लहर आउनेछ।”
पार्टीका महामन्त्री देवेन्द्र प्रकाश पौडेलले भने, “कांग्रेस, एमाले र माओवादीले गरेको भ्रष्टाचार र बेथितिका कारण देशमा समस्या बढेको छ। वी.पी. काँग्रेस वैकल्पिक शक्ति बन्नेछ।”
वी.पी. काँग्रेसले काठमाडौँ जिल्ला कार्यसमिति घोषणा गर्दै १५ सदस्यीय समिति गठन गरेको छ। शैलेश राज श्रेष्ठको सभापतिमा, अरुणरत्न तुलाधर उपसभापति, रेखा शाक्य सहउपसभापति चयन भएका छन्। सचिवमा उदयविर शाक्य, सहसचिवमा सरिता केसी, कोषाध्यक्षमा सरिता वरिया श्रेष्ठ र सहकोषाध्यक्षमा सतिस रत्न तुलाधर नियुक्त भएका छन्। सदस्यमा राम जोशी, रुप शोभा तुलाधर, उदयविर तुलाधर, अंकिता तुलाधर र सक्रिना श्रेष्ठ चयन भएको वी.पी कांग्रेसका सहमहामन्त्री जेएन घिमिरेले जानकारी दिए ।
काठमाडौं जिल्ला समितिले आगामी दिनमा वी.पी. काँग्रेसको एजेन्डा जनतामाझ पुर्याउने जिम्मेवारी निर्वाह गर्ने जनाएको छ।