काठमाडौं : भाद्र कृष्ण औँसीका दिन मनाइने ‘कुशे औँसी’ तथा ‘बुबाको मुख हेर्ने दिन’ आज विभिन्न धार्मिक कार्यसँगै श्रद्धापूर्वक मनाइँदैछ । यस दिन छोराछोरीले बुबालाई मनपर्ने भोजन खुवाई सम्मान प्रकट गर्ने प्रचलन छ भने बुबा दिवङ्गत भएकाले सन्तानले गोकर्णेश्वरलगायत विभिन्न तीर्थस्थलमा गई तर्पण, पिण्डदान तथा सिदादान गर्ने गर्छन्।
काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज ठूलो मेला लागेको छ । भक्तजनहरूले दिवङ्गत पिताको नाममा तर्पण तथा श्राद्ध गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । यस्तै रसुवाको बेत्रावती, तनहुँको देवघाट, विष्णुपादुका र सुनसरीको वराहक्षेत्रमा पनि स्नान गरी पितृश्राद्ध गर्ने परम्परा छ।
यस दिन घरघरमा पवित्र कुश भित्र्याउने चलन छ । वैदिक परम्परा अनुसार ब्राह्मणद्वारा पूजापाठ गरी उखेलिएको कुश वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने धार्मिक विश्वास छ । थोरै दान गरे पनि हजारौँ गुणा पुण्य प्राप्त हुने शास्त्रीय मान्यता रहेकोले यसलाई पुण्य पर्वका रूपमा पनि मनाइन्छ ।