काठमाडौं : वैदेशिक रोजगारीमा गएका नेपालीले एक आर्थिक वर्षमै झण्डै १७ खर्ब २३ अर्ब रुपैयाँ नेपाल भित्र्याएका छन्।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक प्रतिवेदनअनुसार, विप्रेषण आप्रवाह १९.२ प्रतिशतले देखाएको हो । राष्ट्र बैंकका अनुसार, अघिल्लो वर्षको तुलनामा यो २ खर्ब ७८ अर्ब रुपैयाँ बढी हो। आर्थिक वर्ष २०८०/ ८१ मा कुल रेमिटेन्स १४ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो। रेमिटेन्स वृद्धिसँगै देशको चालु खाता, शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चितिमा समेत उल्लेखनीय सुधार देखिएको छ।
चालु आर्थिक वर्षमा चालु खाता ४ खर्ब ९ अर्ब २० करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्ष यो खाता २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो। त्यस्तै, शोधनान्तर स्थिति पनि ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ। विदेशी विनिमय सञ्चिति ३१।२ प्रतिशतले वृद्धि भई २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ पुगेको छ। यो सञ्चिति अमेरिकी डलरमा १९ अर्ब ५० करोड बराबर रहेको र १५.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको दाबी छ।
राष्ट्र बैंकका अनुसार, खुद पुँजीगत ट्रान्सफर ९ अर्ब ८४ करोड र प्रत्यक्ष वैदेशिक लगानी इक्विटी १२ अर्ब २ करोड रुपैयाँ पुगेको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ४।६१ प्रतिशत रहने अनुमान गरेको छ। विप्रेषण आप्रवाह, विदेशी मुद्रा सञ्चिति र निर्यात हालसम्मकै उच्च बिन्दुमा पुगेको उल्लेख गर्दै बैंकले बाह्य क्षेत्रका सूचकहरू सन्तोषजनक अवस्थामा पुगेको टिप्पणी गरेको छ।