काठमाडौं : युक्रेनको राजधानी कीभमा रुसको भीषण आक्रमणमा कम्तीमा २३ जनाको मृत्यु भएको छ। मारिनेमा चार बालबालिका पनि परेका छन्। आक्रमणमा ईयूको कूटनीतिक मिसन कार्यालय र ब्रिटिस काउन्सिलसमेत क्षतिग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
पाँच तले आवासीय भवन पूर्णरूपमा ध्वस्त भएको र धेरै मानिसहरू भग्नावशेषमा पुरिएको बताइएको छ।
ईयू आयोगकी अध्यक्ष उर्सुला भन डेयर लाइनले आक्रमणलाई “आतंकको पराकाष्ठा” भन्दै तीव्र शब्दमा निन्दा गरेकी छन्। उनका अनुसार दुईवटा मिसाइल ईयू कार्यालयदेखि ५० मिटर टाढा, २० सेकेन्डको अन्तरालमा खसेका थिए।
युक्रेनी सेनाले रुसले करिब ६०० ड्रोन र ३० भन्दा बढी मिसाइल प्रहार गरेको जनाएको छ।