बाराः वीरगन्जलाई मात्रै हैजाले प्रभाव पारेको ठानिँदै आएको बेला बाराकै महागढीमाई नगरपालिका–८ का दुई बालबालिकामा संक्रमण पुष्टि भएको छ। बाराको स्वास्थ्य कार्यालयका प्रमुख रामनरेश यादवका अनुसार झाडापखालासँगै भदौ १६ गते कलैयास्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएका आठ वर्षीय बालक र आठ वर्षीया बालिकामा गरिएको आरडीटी परीक्षणमा हैजा देखिएको हो।
यसअघि बाराका बासिन्दामध्ये वीरगन्जमा बस्दै आएका आठ जनामा हैजा भेटिएको थियो। तर, वीरगन्जसँग कुनै सम्पर्क नभएका दुई बालबालिकामा संक्रमण पुष्टि हुनु जिल्लामै पहिलोपटक भएको हो।
स्वास्थ्य कार्यालयका अनुसार बाराका संक्रमितमध्ये तीन जना उपचारपछि डिस्चार्ज भइसकेका छन्। हाल कलैया अस्पतालमा पाँच जना तथा वीरगन्जको नारायणी अस्पताल र नेशनल मेडिकल कलेजमा एक–एक जना उपचाररत छन्।