


काठमाडौं : नेपालमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी तयारीसँगै फेसबुक, वाट्सएप र इन्स्टाग्राम सञ्चालन गर्ने कम्पनी मेटाले दर्ता प्रक्रियाबारे पहल थालेको छ। कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङको सचिवालयलाई इमेलमार्फत सम्पर्क गरी नेपालमा सूचीकरणका लागि आवश्यक कागजातबारे जिज्ञासा राखेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव गजेन्द्र ठाकुरले जानकारी दिए।
उनका अनुसार मेटाको सिंगापुरस्थित कार्यालयले दर्ता प्रक्रियासम्बन्धी विवरण बुझ्न खोजेको हो। ‘मेटाले सरकारी संयन्त्रभन्दा पनि मन्त्रीको सचिवालयमार्फत सम्पर्क गरेको हो,’ प्रवक्ता ठाकुरले स्पष्ट पारे।
यसैबीच, हाम्रो पात्रोले पनि नेपालमा सूची दर्ता प्रक्रियाका लागि मन्त्रालयमा सम्पर्क गरेको छ। सर्वोच्च अदालतको आदेश र मन्त्रिपरिषद्को निर्णयअनुसार नेपालमा २६ वटा सामाजिक सञ्जाल निष्क्रिय गर्ने तयारी भइरहेका बेला मेटा र हाम्रो पात्रो दुवै कम्पनीले औपचारिक चासो देखाएका हुन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |