


काठमाडौं : सुनसरीको देवानगन्ज र सिराहालगायत क्षेत्रमा भएका पछिल्ला हिंसात्मक घटनापछि प्रधानमन्त्री बालेन्द्र शाहले देशवासीका नाममा विशेष सम्बोधन गर्दै राष्ट्रिय एकता कायम राख्न र संयम अपनाउन सबै पक्षसँग अपिल गरेका छन्। उनले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री शाहले घटनामा ज्यान गुमाएका जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको उपचारमा कुनै कमी हुन नदिने बताएका छन्। गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको उल्लेख गर्दै उनले अनुसन्धान पारदर्शी र निष्पक्ष हुने विश्वास दिलाए।
उनका अनुसार शान्ति-सुरक्षा अवस्थाबारे राष्ट्रिय सुरक्षा परिषद्ले आवश्यक निर्णय गरिसकेको छ भने गृहमन्त्री प्रभावित क्षेत्रमा पुगेर अनुगमन र पीडितसँग संवाद गरिरहेका छन्। सामाजिक सञ्जालमा अपुष्ट सूचना र घृणायुक्त सामग्री नफैलाउन आग्रह गर्दै प्रधानमन्त्रीले धार्मिक सद्भाव र सामाजिक एकतालाई कमजोर पार्ने गतिविधिविरुद्ध सरकारले कडा कदम चाल्ने चेतावनी दिएका छन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |