काठमाडौं : नेपाली कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराष्ट्रपति वा उपराष्ट्रपति सक्रिय राजनीतिमा आउन संविधानले कुनै रोक लगाएको छैन बताएका छन्। शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले संवैधानिक व्यवस्था यसबारे स्पष्ट नभएको बताए।
‘संविधानमा आउन पाइन्छ भनेर पनि लेखेको छैन, नपाइने भनेर पनि लेखेको छैन,’ देउवाले भने। एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता र माओवादी केन्द्रमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको प्रवेशलाई लक्षित गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।
देउवाले संविधान संशोधनका लागि दुई तिहाइ बहुमत आवश्यक हुने उल्लेख गर्दै दलहरुसँग छलफल जारी रहेको बताए। साथै, वर्तमान सरकारबाट मन्त्री फिर्ता बोलाउनेबारे चर्चा नभएको देउवाले स्पष्ट पारे ।