ललितपुर : विधान महाधिवेशनको दोस्रो दिन स्थायी कमिटी सदस्य कर्णबहादुर थापालाई फरक मत राख्न नदिइएपछि नेकपा (एमाले) को हलभित्रै असहज स्थिति सिर्जना भएको छ। अध्यक्ष केपी शर्मा ओलीले थापालाई मन्तव्य राख्न समय नदिएपछि उनी करिब १५ मिनेटसम्म उभिएर असहमति जनाएका थिए।
शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनको शनिबारको सत्रमा अध्यक्ष ओलीले थापालाई “समय छैन” भन्दै फरक मत राख्न रोकेका थिए।
एक नेताका अनुसार थापाले फरक धारणा प्रस्तुत गर्नका लागि औपचारिक समय मागेका थिए। तर ओलीले आफ्नो समूहमा मात्रै कुरा राख्न निर्देशन दिएपछि थापा हलभित्रै उभिएर मौन प्रतिरोध गरेका थिए।
‘उहाँसँग मेरो कुरा भइसकेको छ,’ अध्यक्ष ओलीले हलमै भने, ‘तर मलाई कन्विन्स गराउन सक्नुभएन।’ स्रोतका अनुसार सचिवालयको अघिल्लो बैठकले थापालाई फरक मत राख्न दिने निर्णय गरेको थियो।