काठमाडौं : सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध जेनजी पुस्ताले सोमबार प्रदर्शन गर्ने भएका छन्। बिहान ११ बजे माइतीघर मण्डलामा हुने प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ।
विज्ञप्ति जारी गर्दै उनीहरूले आन्दोलन शान्तिपूर्ण र कानुनी हुने स्पष्ट गरेका छन्। आन्दोलनको उद्देश्य भ्रष्टाचारविरुद्ध जवाफदेही सुनिश्चित गर्नु, शासनमा पारदर्शिता ल्याउनु र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउनु रहेको विज्ञप्तिमा उल्लेख छ।
प्रदर्शनमा सहभागीलाई हिंसा, तोडफोड वा अव्यवस्था नगर्न आग्रह गरिएको छ। एकता, सृजनशीलता र सत्य नै आफ्नो शक्ति भएको उनीहरूको भनाइ छ।
जेन जीले राजनीतिक दल र नेताहरूलाई आन्दोलनलाई आफ्नो स्वार्थका लागि प्रयोग नगर्न चेतावनी दिएका छन्। आन्दोलन नेपालको भविष्यका लागि भएको स्पष्ट गर्दै उनीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने अधिकारको सम्मान गर्न सरकारलाई आग्रह गरेका छन्। बल प्रयोग भए त्यसको जिम्मेवारी सरकारकै हुने चेतावनी पनि दिएका छन्।