काठमाडौं : दिवंगत पितृप्रति कर्तव्य निर्वाह गर्ने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् सुरु भएको छ। आश्विन कृष्ण प्रतिपदादेखि आरम्भ हुने यो संस्कार आज प्रतिपदा श्राद्धसँगै प्रारम्भ भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले प्रतिपदा तिथिको पिण्डदान अपराह्नसम्म सकाउनुपर्ने जनाएको छ।
आश्विन कृष्ण प्रतिपदादेखि शुक्ल प्रतिपदासम्मका सोह्र दिन दिवंगत पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परालाई सोह्रश्राद्ध भनिन्छ। धर्मशास्त्रविद्हरूका अनुसार यसरी गरिएको श्राद्धले पितृ तृप्त हुने र पितृऋणबाट मुक्त भइने विश्वास छ।
शास्त्रअनुसार अपराह्नकालमै श्राद्ध गर्नुपर्ने भए पनि कतिपय पुरोहितले बिहानै गर्न लगाउने गरेको गुनासो समितिसम्म पुगेको छ। समितिका अध्यक्ष प्रा। शम्भुप्रसाद ढकालले बिहान श्राद्ध गर्नु शास्त्रसम्मत नभएको स्पष्ट पारे।
पितृ पक्ष सकिएलगत्तै दुर्गा पक्ष अर्थात् बडादसैँ सुरु हुन्छ। ठूला चाडपर्व मनाउनुअघि पितृ तृप्तिका लागि श्राद्ध गर्ने परम्परा सनातन वैदिक संस्कारअनुसार आजसम्म निरन्तर रहँदै आएको छ।