काठमाडौं : सरकारद्वारा सामाजिक सञ्जाल निषेध गर्ने निर्णयविरुद्ध सुरु भएको जेन–जेड पुस्ताको आन्दोलन देशव्यापी बनेको छ । आन्दोलन उग्र बन्दै जाँदा सुरक्षाकर्मीको हस्तक्षेपपछि काठमाडौँ र इटहरीमा गरी १९ जनाको मृत्यु भएको छ भने २५६ जना घाइते भएका छन् । काठमाडौँ उपत्यकामा मात्रै २५६ जना घाइते भएका छन्। तीमध्ये केहीको अवस्था गम्भीर रहेको र विभिन्न अस्पतालमा उपचार भइरहेको छ । काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको पुष्टि गरिएको छ। अधिकांश घाइते प्रदर्शनकारी हुन् भने सुरक्षाकर्मीहरू पनि घाइते परेका छन्।
शनिबार बिहानदेखि सामाजिक सञ्जालमा आन्दोलनका लागि आह्वान गरिएपछि युवाहरू राजधानीसहित देशका प्रमुख सहरमा सडकमा उत्रिएका थिए। नयाँ बानेश्वर, माइतीघर, शंखपार्क, लैनचौर, दरबारमार्ग, बालुवाटार लगायतका स्थानमा ठूलो संख्यामा प्रदर्शनकारी भेला भएका थिए। प्रहरीले भीड नियन्त्रणका लागि अश्रुग्यास, पानीको फोहरा र लाठीचार्ज गरेको थियो।
स्थिति नियन्त्रण बाहिर जाँदै गएपछि प्रशासनले काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्र, इटहरी, बुटवल, पोखरा, र शहीदचोक (पोखरा) क्षेत्रमा कफ्र्यु आदेश जारी ग¥यो। राजधानीको बानेश्वर क्षेत्रमा सेना समेत परिचालन गरिएको छ।
‘प्रदर्शन शान्तिपूर्ण थियो, प्रहरीले निहुँमा बल प्रयोग ग¥यो,’ एक प्रदर्शनकारीले भने, ‘हामी आवाज उठाउन निस्केका हौं, तर जवाफ गोली र लाठीबाट आयो।’
विपक्षी दलहरूले सरकारको कदमको आलोचना गरेका छन्। ‘सरकारले अभिव्यक्ति स्वतन्त्रता दमन गर्ने प्रयत्न गरिरहेको छ,’ प्रमुख विपक्षी दल नेपाली कांग्रेसका एक नेताले भने, ‘युवाहरूको आवाज दबाउने होइन, सुन्ने प्रयास गरिनुपर्छ।’
काठमाडौं महानगरपालिकाका अनुसार घाइतेहरूको उपचारका लागि सिभिल अस्पताल, ट्रमा सेन्टर लगायतका स्वास्थ्य संस्थामा अत्यधिक चाप बढेको छ। मेयर बालेन शाहको निर्देशनमा नगर प्रहरीको टोलीले उद्धार र उपचारमा सहयोग गरिरहेको छ।
विश्लेषकहरूका अनुसार डिजिटल युगको चेतनशील पुस्ता सरकारको निर्णयबाट असन्तुष्ट छ। यस्ता आन्दोलनहरूले विगतमा इरान, हङकङ, श्रीलंका, ट्युनिसिया जस्ता देशमा राजनीतिक परिवर्तन ल्याएको स्मरण गर्दै उनीहरूले सरकारलाई संवादको बाटो अवलम्बन गर्न सुझाव दिएका छन्।