काठमाडौं : देशभर फैलिएको जेन–जेड आन्दोलनका क्रममा भएको मानवीय क्षति र राजनीतिक परिस्थितिलाई लिएर नेपाली कांग्रेसले सोमबार केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि भदौ २४ गते बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ।
“पार्टीका पदाधिकारी एवं कार्यसम्पादन समितिका सदस्यहरूको उपस्थितिका लागि अनुरोध गरिएको छ,” पौडेलले जानकारी दिए। बैठकमा जेन–जेड आन्दोलन, त्यसक्रममा भएको बल प्रयोग, मानवीय क्षति, तथा सरकारको समग्र व्यवहारमाथि मूल्यांकन गरी पार्टीको आधिकारिक धारणा तय गरिने कांग्रेस नेताहरूले जनाएका छन्।
शनिबार भएको प्रदर्शनमा १९ जनाको मृत्यु भइसकेको छ भने २५६ जना भन्दा बढी घाइते भएका छन्। घटनापछि सामाजिक सञ्जाल र आम नागरिकमा सरकारको आलोचना चुलिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको राजीनामासमेत माग गरिसकेको छ। तर, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले औपचारिक धारणा दिन बाँकी रहेको भन्दै पार्टीभित्र र बाहिरबाट प्रश्न उठ्न थालेका छन्।