काठमाडौं : बारबरा फाउन्डेसनले जेन–जी आन्दोलनसँग आफ्नो संस्था जोडेर गरिएको भ्रामक प्रचारप्रति कडा आपत्ति जनाएको छ। आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फाउन्डेसनले आन्दोलनसँग सम्बन्धित ‘हामी नेपाल’ नामक संस्थासँग आर्थिक वा औपचारिक सहकार्य नरहेको प्रष्ट पारेको हो।
फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले कोभिड महामारीको समयमा सीमित सहकार्य भए पनि, पछिल्लो एक वर्षदेखि ‘हामी नेपाल’सँग कुनै पनि किसिमको साझेदारी वा आर्थिक कारोबार नभएको बताए । ‘हामी नेपालसँग गत एक वर्षदेखि कुनै पनि सहकार्य छैन। आन्दोलनमा आर्थिक सहयोग गरिएको भन्ने कुरा पूर्ण रूपमा झूठ हो’-उनले भने ।
पत्रकार सम्मेलनमा आफ्नो वित्तीय विवरण सार्वजनिक गर्दै, फाउन्डेसनले विगत आठ वर्षमा ब्याज आम्दानीलगायत गरेर कुल ७ करोड ८२ लाख रुपैयाँ प्राप्त भएको जानकारी दिएको छ। हालसम्म ३ करोड ९५ लाख रुपैयाँ बैंकमा मौज्दात रहेको पनि फाउन्डेसनले उल्लेख गरेको छ।
फाउन्डेसनले आफ्नो गतिविधि सदैव पारदर्शी, मानवीय सेवामा आधारित रहेको दाबी गर्दै, राजनीतिक एजेन्डामा जबरजस्ती घिसारिने प्रयासको विरोध गरेको छ।