काठमाडौं : प्रधानमन्त्री सुशीला कार्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्रीमा नियुक्त भएपछि भारतीय समकक्षीसँग भएको यो पहिलो टेलिफोन संवाद हो । वार्ताका क्रममा प्रधानमन्त्री कार्कीले युवाहरूको आकांक्षा र जनभावनाअनुरूप उत्तरदायी, पारदर्शी तथा भ्रष्टाचारमुक्त शासन व्यवस्था आफ्नो मुख्य प्राथमिकता हुने बताउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भारतीय प्रधानमन्त्री मोदीले नेपालको प्राथमिकता अनुसार पूर्ण सहयोग र सहकार्य गर्न भारत प्रतिबद्ध रहने धारणा व्यक्त गरेका छन् । टेलिफोन संवादमा प्रधानमन्त्री कार्कीले प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिएका थिए ।
मोदीले देशको पहिलो महिला प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री कार्कीलाई बधाई दिएका थिए । यसै क्रममा मोदीले नेपालमा हालै जेन–जेड युवाहरूले आह्वान गरेका प्रदर्शनहरूका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरे । प्रधानमन्त्री मोदीले शुक्रबारको राष्ट्रिय दिवसको पनि शुभकामना दिँदै, नेपालका जनताको समृद्धिको कामनासहित सन्देश पठाएका छन् ।
नेपालले संविधानसभाबाट संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रूपमा मनाउँदै आएको छ । भोलि संविधान जारी भएको १० वर्ष पूरा हुँदैछ । दुवै प्रधानमन्त्रीबीचको संवादमा द्विपक्षीय सहकार्य र जन–जनको हितमा साझेदारीलाई सुदृढ गर्दै लैजाने प्रतिबद्धता पुनः दोहोरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।