काठमाडौं : सरकारले अध्यादेशमार्फत निर्वाचनसम्बन्धी कानुन संशोधन गरी मतदाता नामावली अद्यावधिक गर्ने तयारी गरेको छ ।
आज गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गर्दै, युवाहरूलाई पनि मतदानको अवसर सुनिश्चित गर्न कानुनी व्यवस्था मिलाउने तयारी भएको जानकारी दिएका हुन् । गृहमन्त्री अर्यालका अनुसार, उमेर पुगेका तर मतदाता नामावलीमा नाम नपुगेका युवाहरूलाई मतदानको अधिकार सुनिश्चित गर्न अध्यादेशमार्फत कानुन संशोधनको प्रक्रिया अगाडि बढाइने छ ।
गृहमन्त्री अर्यालले विदेशमा रहेका नेपाली नागरिकले पनि समानुपातिक निर्वाचनतर्फ मतदान गर्न पाउने व्यवस्था मिलाउने गरी कानुन निर्माण गर्ने विषयमा निर्वाचन आयोगसँग सहमति जुटेको जानकारी दिए । निर्वाचन आयोगसँगको समन्वयमा प्रविधि र प्रक्रियागत पहल गर्दै परदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित गर्ने सरकारको तयारी रहेको मन्त्री अर्यालले बताए ।