काठमाडौँ : अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले संविधान दिवसलाई केवल उत्सवको रूपमा सीमित नगरी संघीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धि र कमजोरी मूल्यांकन गर्ने दिनका रूपमा लिनुपर्ने बताएकी छन्।
टुँडिखेलमा सोमबार आयोजित संविधान दिवसको विशेष समारोहलाई सम्बोधन गर्दै कार्कीले आन्दोलनको मर्म आत्मसात गर्दै वर्तमान सरकारले जनआकांक्षा पूरा गर्ने दृढ संकल्पसहित काम गर्ने प्रतिबद्धता जनाइन्। “संविधानले मार्गदर्शन गरेको विगत एक दशकको यात्रामा के हासिल गर्यौं, के गर्न सकेनौं र अबका कार्यदिशा के हुन् भन्ने प्रश्नमा गम्भीर समीक्षा गर्नुपर्ने स्थिति छ,” उनले भनिन्।
उनका अनुसार लोकतन्त्र भनेको जनताको आवाज सुन्ने, संवाद गर्ने र समाधान खोज्ने प्रणाली हो। हालैको जेनजी आन्दोलन सरकार संघीय गणतान्त्रिक शासन प्रणाली, मौलिक अधिकार, सुशासन र सक्षम न्यायपालिकाका मूल्यमा खरो उत्रिन नसक्नुको परिणाम भएको उनको भनाइ थियो।
सरकारका काम–कारबाहीमा पारदर्शिता, कानूनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास सबै पुस्ताका साझा अपेक्षा भएको उल्लेख गर्दै उनले आफू पदको लोभका कारण प्रधानमन्त्री नभई संक्रमण व्यवस्थापनका लागि युवा पुस्ताको आग्रहमा नेतृत्व लिएको स्पष्ट पारेकी छन्।
संविधानअनुसार ६ महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गरी जनप्रतिनिधि सरकारलाई जिम्मेवारी हस्तान्तरण गरिने कार्कीले दोहोराइन्। उनले आन्दोलनका क्रममा क्षतिग्रस्त संरचना र प्रभावित व्यवसायिक प्रतिष्ठान पुनःनिर्माण गर्न सबै पक्षलाई सहयोगको आह्वानसमेत गरिन्।