काठमाडौं : देशभर लगातारको वर्षा र पहिरोका कारण प्रमुख राजमार्ग ठप्प बनेपछि यात्रीहरू बीच बाटोमै अलपत्र परेका छन् । नारायणगढ–मुग्लिन सडकखण्डको तुइनखोला पुल नजिक ठूलो पहिरो खस्दै गएपछि बाटो पूर्ण रूपमा अवरुद्ध छ । वैकल्पिक बाटो प्रयोग गर्न प्रशासनले सार्वजनिक सूचना जारी गरे पनि लामो दूरीका यात्रुहरूलाई अप्ठ्यारो परेको छ ।
स्थिति गम्भीर बनेपछि ऊर्जा तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले आकस्मिक बैठक बोलाएर सडक विभाग, गृह मन्त्रालय, यातायात व्यवसायी महासंघ र मजदुर प्रतिनिधिसँग छलफल थालेका छन् । दशैं–तिहारलाई दृष्टिगत गर्दै अवरोध व्यवस्थापनका लागि कार्यदल बनाइने मन्त्री घिसिङको भनाइ छ ।
यसैबीच, कोशी राजमार्गको भोटखोला र मकालु गाउँपालिकाको एकुवामा सडक पूर्ण रूपमा बन्द छ भने सिद्धिचरण लोकमार्गको कटारी नगरपालिका–८ मा पनि यातायात रोकिएको छ । रसुवामा मितेरी पुल र अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकमा पहिरो खसेपछि चीनसँगको आवागमन अवरुद्ध भएको छ । अन्य केही राजमार्ग भने आंशिक रूपमा एकतर्फी सञ्चालनमा छन् ।