काठमाडौं : आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने हिन्दूहरूको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ।
घरघरमा घटस्थापना गरी जमरा रोपेर देवी दुर्गाको आह्वानसहित पूजा आराधना थालिएको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतअनुसार बिहान ९ः१३ बजे घटस्थापना गरिएको हो। वैदिक विधिअनुसार पूजा कोठा वा दशैँ घरमा कलश स्थापनासहित बलुवा वा माटोमा जौ रोप्ने परम्परा छ। दुर्गाको प्रिय वस्तु मानिने जमरा विजयादशमीका दिन टीका प्रसादसँगै ग्रहण गरिन्छ।
नवरात्रभर देवीका महाकाली, महालक्ष्मी र महासरस्वतीसहित नौवटा रूपको पूजा गर्ने परम्परा छ। नवमीसम्म विशेष पूजा, आराधना, दुर्गा सप्तशतीको पाठ र शक्तिपीठमा दर्शन गर्ने चलन छ। यसबीच सातौँ दिन फूलपाती, आठौँ दिन महाअष्टमी र नवमीमा विशेष बलिपूजा गर्ने प्रचलन रहिआएको छ।
असोज १६ गते विजयादशमीका दिन साइतअनुसार मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने गरिन्छ। दशैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ।