काठमाडौं : एक महिनादेखि पूर्णरूपमा अवरुद्ध अरनिको राजमार्गको बाह्रबिसे–कोदारी खण्ड आइतबारदेखि ट्र्याक खुलेको छ।
चीनसँग जोडिने यो उत्तरी नाकामा पाँच ठाउँमा पहिरो खसेपछि राजमार्ग भदौ ८ गतेदेखि ठप्प भएको थियो। सडक डिभिजन कार्यालय चरिकोटका प्रमुख नारायणदत्त भण्डारीका अनुसार डाक्लाङमा तीन, घट्टेखोलामा एक र कोदारी खण्डमा एक गरी पाँच स्थानमा पहिरो पन्छाएर ट्र्याक खुलेको हो।
ग्राभेल कार्य सोमबारदेखि सुरु हुने र त्यसपछि मात्र सवारीसाधन सञ्चालनमा ल्याइने कार्यालयले जनाएको छ। सडक खुलाउन ३ वटा एस्काभेटर, ३ लोडर, १३ टिपर र ४० मजदुर परिचालन गरिएको थियो।
बाटो अवरुद्ध हुँदा स्थानीयको आवागमनसँगै चीन–नेपाल व्यापारसमेत प्रभावित भएको थियो। स्थानीयको असहमति र जोखिमपूर्ण भूभागका कारण पहिरो हटाउन पटक–पटक अवरोध भए पनि असोज ३ गते सर्वपक्षीय सहमतिपछि काम तीव्र बनेको हो। पहिरोको दीर्घकालीन समाधानका लागि कात्तिक मसान्तमा ठेक्का आह्वान गर्ने र असार मसान्तभित्र काम सुरु गर्ने निर्णय भएको छ।