काठमाडौं : भारतले २०७२ साल असोज ७ गते नेपालमाथि लगाएको नाकाबन्दीको दशौँ वार्षिकीका अवसरमा ‘हाम्रो पार्टी नेपाल’ ले आज स्मरण कार्यक्रम गर्ने भएको छ। पार्टीले नाकाबन्दीलाई ‘कालो दिन’का रूपमा स्मरण गर्दै असोज ७ का दिनलाई बिर्सन नहुने बताएको छ।
स्मरण कार्यक्रम आज दिउँसो ३ बजेदेखि ५ बजेसम्म माइतीघर मण्डलामा हुने हाम्रो पार्टी नेपालका संयोजक गोविन्द बोहरा (ब्रमाण्ड)ले जानकारी दिए । कार्यक्रममा देशभक्त नागरिक, बुद्धिजीवी, सञ्चारकर्मी र सरोकारवालालाई सहभागी हुन आमन्त्रण गरिएको छ।
नाकाबन्दीका ती दिनहरू नेपाली जनताले झेल्नु परेको पीडादायी अध्याय भएको भन्दै आयोजकले स्मरण कार्यक्रममा राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको सवालमा एकताबद्ध सन्देश दिने तयारी गरेको जनाएको छ।