चितवन : तुइनखोलामा खसेको पहिरोका कारण दुई दिन अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडक बिहीबार रातिदेखि दुवैतर्फका सवारीसाधनका लागि सञ्चालनमा आएको छ। सडक खुल्नासाथ अलपत्र परेका यात्रु गन्तव्यतर्फ लागेका छन्।
मंगलबार रातिदेखि निरन्तर वर्षापछि तुइनखोलामा ठूलो पहिरो खस्दा सडक आवागमन पूर्ण रूपमा रोकिएको थियो। लगातार वर्षा र भीमकाय ढुंगामाटो हटाउन कठिनाइ भएपछि दुई दिनसम्म सडक पूर्ण अवरुद्ध रह्यो।
डोजर र एक्साभेटर परिचालन गरी बिहीबार बेलुकीसम्म माटो, ढुंगा र अन्य सामग्री पन्छाउने काम सकिएपछि सडक सुचारु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
सडक अवरुद्ध हुँदा काठमाडौँ, पोखरा र तराईतर्फ गएका सयौँ सवारी गन्तव्यमा पुग्न नसकी बीचैमा अलपत्र परेका थिए। होटल, पेट्रोल पम्प र सडककछका स्थानमा यात्रुहरू दुई दिनयता रोकिएका थिए। सडक खुल्नासाथ लाम लागेका सवारी एकपछि अर्को गर्दै गन्तव्यतर्फ छुटेका छन्।
नारायणगढ–मुग्लिन सडक खण्ड देशकै मुख्य जीवनरेखा मानिन्छ। राजधानीलाई तराई तथा भारतसँग जोड्ने यो मार्ग बारम्बार पहिरो खस्ने संवेदनशील क्षेत्रमा पर्दछ। हरेक वर्ष वर्षायाममा यस खण्डमा पहिरोका कारण सडक अबरुद्ध हुने गरेको छ ।