काठमाडौं : अर्थ मन्त्रालयले आजदेखि सबै टिप्पणी र निर्णय प्रक्रियामा पूर्ण डिजिटल स्वीकृति प्रणाली लागू गरेको छ।
अब आन्तरिक फाइलिङ, टिप्पणी तथा स्वीकृति लिन–दिने कार्य अनलाइन प्लेटफर्ममार्फत मात्र हुने मन्त्रालयले जनाएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कागजी प्रक्रियाको साटो डिजिटल प्रणाली अपनाएपछि मन्त्रालयको काम छिटो, पारदर्शी र सुरक्षित हुने विश्वास व्यक्त गरे।
नयाँ प्रणालीले समय, लागत र श्रम बचत गर्ने मात्र होइन, निर्णय प्रक्रियामा पारदर्शिता पनि बढाउनेछ। डिजिटल आर्काइभमा सम्पूर्ण रेकर्ड सुरक्षित रहने भएकाले भविष्यमा दुरुपयोग वा हराउने सम्भावना न्यून हुने अपेक्षा गरिएको छ। यससँगै कर्मचारीले हातले गर्ने पुराना कागजी प्रक्रिया औपचारिक रूपमा अन्त्य भएका छन्। मन्त्रालयका अधिकारीका अनुसार यो पहलले अन्य निकायलाई पनि डिजिटल प्रणालीतर्फ प्रेरित गर्नेछ।